अधिकृतसँग प्रेम गरेको आरोपमा वर्खास्त

 साउन २४, काठमाडौं-  बीबीसी  –  आफ्नै सैनिक अधिकारीसँग प्रेम प्रसंग चलेपछि वेलायतकी पहिलो महिला नाभी कमाण्डरलाई पदबाट हटाइएको छ ।  दुई बर्षदेखि पोर्टल्याण्डमा खटिएकी ४२ वर्षीया कमाण्डर सराह वेस्टलाई गत महिनादेखि उनले कमाण्ड सम्हाल्दै आएको जहाजबाट हटाइएको हो । रोयल नाभीका प्रवक्ताले यसलाई नाभीको आन्तरिक मामला भन्दै कमाण्डर वेस्टलाई हाल कमाण्डबाट हटाइएको बताएका छन् ।

कमाण्डर वेस्टलाई अर्को पदमा राखिने प्रवक्ताले बताए ।  गत महिना वेलायती रक्षा मन्त्रालयले पानी जहाजमा हुने गरेको मर्यादाविपरीतको कामको बारेमा जानकार रहेको सार्वजनिक गरेको थियो । मन्त्रालयले यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो ।

नाभी सैनिकको व्यक्तिगत आचारसंहिताले काममा बाधा पर्ने सम्बन्धलाई बर्जित गरेको छ । रोयल नाभीका प्रवक्ताले यो घटनालाई उनी र उनको माथिल्ला अधिकृतबीचको आन्तरिक मामला भनेका छन् । कमाण्डर वेस्टलाई कमाण्डबाट हटाइएपछि उनी तलका अधिकृतलाई त्यसको जिम्मा दिइएको छ ।

सन् २०१२ मा कमाण्डको जिम्मेवारी लिने बेलामा कमाण्डर वेस्टले आफूले पाएको यो जिम्मेवारीलाई १६ बर्षे करिअरको महत्वपूर्ण क्षण भनेकी थिइन् । लिंकनसायरमा हुर्किएर सन् १९९५ मा रोयल नाभीमा भर्ती भएकी कमाण्डर वेस्ट यसअघि चार वटा साना जहाजको कमाण्ड सम्हालिसकेकी थिइन् । कमाण्डर वेस्टले आफ्नो अधिकृतसँग प्रेम प्रसंग भएनभएको भने निश्चित छैन् ।