नेपाली राष्ट्रिय टोलीका क्रिकेटर बने सैनिक

 साउन २४, काठमाडौं-  त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खेल्ने खेलाडीहरु सैनिक सेवामा आबद्ध भएका छन् । नेपाली सेनाले क्रिकेट खेलाडीलाई आफ्नो कर्मचारीका रुपमा नियुक्त गरेको हो । हाल १० जना राष्ट्रिय क्रिकेटरलाई कर्मचारीका रुपमा नियुक्त गरिएको सेनाको समारोह तथा खेलकुद प्रतियोगिता शाखा प्रमुख सेनानी प्रकाशजंग कार्कीले बताए ।

क्रिकेट खेलाडीलाई सेनाको बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त गरिएको छ । यसरी नियुक्ति पानउे खेलाडीमा सागर पुन, नरेश बुढाऐर, राजेश पुलामी, अनिल मण्डल, महेश क्षेत्री, चन्द्र साउद, अविनाश कर्ण, राहल विक, सोमपाल कामी र जितेन्द्र मुखिया छन् । विनोद भण्डारी र रुपेश श्रीवास्तव पनि भर्नाको तयारीमा रहेको क्लबले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यी सबै खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् । सागर, सोमपाल, जितेन्द्रलगायतका खेलाडी नेपालले पहिलोपटक बंगलादेशमा ट्वान्टी,ट्वान्टी विश्वकप खेल्दा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए । बन्दोबस्ती कार्य सिपाही पदमा नियुक्त भए पनि क्रिकेट खेलाडीलाई हालसम्म सेनाको तालिममा भने पठाइएको छैन् ।

क्रिकेटर सागरले पनि आफू सेनाको जागिरमा प्रवेश गरेको स्वीकारेका छन् । ‘सेनामा आबद्ध भएपछि हामी ढुक्क भएका छौं । अब आफ्नो सम्पूर्ण ध्यान क्रिकेटमा केन्द्रित गर्नेछौं ।’ उनले भने (’पहिले खेलका क्रममा घाइते हुँदा भविष्य अनिश्चित हुने डर रहन्थ्यो, अब त्यो समस्याबाट पनि मुक्ति भएका छौं ।’