दुई करोडको कफी निर्यात

 साउन २३, गुल्मी – गुल्मीमा एक वर्षको अवधिमा झन्डै दुई करोडको कफी उत्पादन भएको छ । जापान र कोरीयामा मुख्य बजार रहेको गुल्मेली कफी आर्थिक वर्ष २०७०- ०७१ मा तीन लाख ४४ हजार किलो उत्पादन भएको हो ।  कृषकले पाउने निर्धारित मूल्य प्रतिकिलो रु ५५ का दरले कुल रु एक करोड ८९ लाख २० हजारको कफी उत्पादन भएको छ ।

जिल्लाको कुल १५५ हेक्टर कफी उत्पादन क्षेत्रमध्ये उत्पादनशील ९१ मा हेक्टरमा उक्त परिमाणको कफी उत्पादन भएको हो ।अघिल्लो आर्थिक वर्षमा कफीको सत्रु मानिने सेतो गबारोले सताएपछि कृषक निरुत्साहित थिए । गत वर्ष त्यसको निराकरण भएकाले उत्साहजनक कफी उत्पादन भएको स्थानीय अधिकारीको भनाई  छ । कफीको पकेट क्षेत्र तोकेर कृषकलाई प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम कृषि विकास कार्यालयले सञ्चालन गरेको छ ।

कृषकको घरमा उत्पादित झन्डै चार लाख किलो ‘राइट चेरी’ (नसुकाएको र बोक्रा नछोडाएको) कफी खरिद गरी ८६ मेट्रिकटन ड्राई चेरी (सुकाएर बोक्रा निकालेको) उत्पादन भएको कृषि कार्यालयको भनाइ छ । नेपालमै कफीखेतीको उत्पादन थलो आँपचौरमा गत वर्ष सबैभन्दा बढी पाँच हजार किलो कफी उत्पादन भएको थियो ।

 गुल्मीमा कुल ११ वटा सहकारी संस्थामार्फत कफी सङ्कलन भई प्रशोधन केन्द्र जोहाङ खैरेनी पठाइन्छ र प्रशोधनपछि विदेशमा बिक्री गरिन्छ । हालसालैमात्र जिल्ला कफी सहकारी संस्थाले गुल्मीको बलेटक्सारमा पनि सङ्कलन केन्द्र स्थापना गरी खरिद बिक्री गर्न थालेको संस्थाका अध्यक्ष नीलकण्ठ गौतमले बताए ।     सो संस्थामार्फत सङ्कलन हुने ८०० टन कफी यसैवर्षदेखि बलेटक्सारमा प्रशोधन गरी कोरियाली बजारमा पठाउन थालिएको हो ।

गत वर्ष नै बलेटक्सारमा देशमै पहिलोपटक कफी अनुसन्धान केन्द्रको स्थापना भएपछि जिल्लाभरकै कृषक कफीखेतीप्रति आकर्षित भएका हुन् ।     त्यस्तै कफी सङ्कलन, व्यवस्थापन र बिक्री वितरणमा सुरुदेखि नै अगुवाइ गरेको जिल्ला सहकारी बहुउद्देश्यीय सहकारी सङ्घ गुल्मीले गत वर्ष ३० टन कफी सङ्कलन गरी प्रशोधनपछि घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा पुर्याएको सङ्घका उपाध्यक्ष शेषकान्त गौतमले बताए ।

उनका अनुसार ३० टन ड्राइ चेरी प्रशोधन गर्दा गत वर्ष १५ टन कफी उत्पादन भएको थियो । सो संस्थाका प्रबन्धक युवराज आर्चायका अनुसार गत वर्ष १० टन कफी अन्तर्राष्ट्रिय बजारमा सरदर प्रतिकिलो ७०० का दरले पठाएर रु ७० लाख भित्र्याइएको छ भने पाँच टन घरेलु बजारमा न्यूनतम प्रतिकिलो ६०० का दरले बिक्री गरिएको थियो ।