नेपाली सेनाका खेलाडीको पदोन्नति

साउन २३, काठमाडौँ  –  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका नेपाली सेनाका खेलाडीको पदोन्नति भएको छ ।      सेनाले आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न विधाका ६ खेलाडीको पदोन्नति गरी दज्र्यानी चिह्न प्रदान गरेको हो ।

दज्र्यानी चिह्न प्राप्त गर्ने खेलाडीमा एथ्लेटिक्सका देवीबहादुर बस्नेत, भलिबलका ताराकान्त चौधरी, कबड्डीका डम्बरबहादुर बडवाल, फुटबलका चुनबहादुर थापा, सुटिङकी सुनिता महर्जन र ह्विल चियर बास्केटबलका हिमाल अर्याल रहेका छन् ।

एथ्लेटिक्सका बस्नेतले विसं २०६१- ६२ मा भएको राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत १००, २०० र ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए भने लामोसमयसम्म आर्मी क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

भलिबलका चौधरीले विभिन्न राष्ट्रिय भलिबल प्रतियोगितामा स्वर्णपदक हात पार्नुका साथै विसं २०६८ मा पाकिस्तानमा भएको एसियन खेलमा सहभागिता जनाएको थिए ।  त्यस्तै, कबड्डीका बडवाल भारतमा सम्पन्न विश्वकप कबड्डीमा दोस्रो, विसं २०६० बङ्गलादेशमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तेस्रो भएका थिए भने पाँचाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।

फुटबलका थापा सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप प्रतियोगितामा पहिलो बनेका थिए भने उनले राष्ट्रिय टिमका पूर्व खेलाडी एवम् १० वर्षसम्म त्रिभुवन आर्मी क्लबका खेलाडीको रुपमा काम गरेका थिए । एथ्लेटिक्स, भलिबल, कबड्डी र फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेका चार खेलाडीले जमदारबाट सुवेदारको दज्र्यानी चिन्न प्राप्त गरेका हुन् ।

यसैगरी, सुटिङकी महर्जन प्रथम लुम्बिनी राष्ट्रिय सुटिङ प्रतियोगितामा प्रथम भएकी थिइन् भने बास्केटबलका अर्यालले विसं २०६९ मा भएको तेस्रो राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । दुवै खेलाडीले हवल्दारबाट जमदारको दज्र्यानी चिह्न लगाएका हुन् ।