आयोजना प्रमुख र इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा

साउन २३, काठमाडौँ  –  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग विशेष भौतिक तथा पूर्वाधार क्षेत्र आयोजनाका प्रमुख र इन्जिनियरविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले केही दलाली र इन्जिनियरहरुको साथमा हरेक बर्ष करोडौंको भ्रष्टाचार गर्ने गरेको समाचार आईरहदा भरखरै अख्तियारको ध्यान त्यस तर्फ गएको हो ।

काठमाडौँ महाँकाल क्षेत्रको जगन्नाथ तथा लोकेश्वर मन्दिर परिसर निर्माण तथा सुधार कार्यको अन्तिम भुक्तानीको सिलसिलामा आयोजना प्रमुख कोमानन्द अधिकारी र सोही कार्यालयका इन्जिनियर दीपा श्रेष्ठले घुस लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ ।

उनीहरूले सेवाग्राहीबाट रु ४० हजार घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले थलोमा नै पक्राउ परेका थिए ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम हदैसम्मको कारबाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।