एम्बुलेन्स दुर्घटनामा तीन घाइते

साउन२३ ,तनहुँ  – नवलपरासीबाट पर्वत जिल्लामा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स गएराति तनहुँको घाँसीकुवा गाविस वडा नं ५ स्थित पृथ्वीराजमार्गमा दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् ।

नवलपरासीस्थित नवयुवा क्लबद्वारा सञ्चालित लु१च ५५५३ नम्बरको सो एम्बुलेन्स बिहीबार राति ३ बजे अनियन्त्रित हुन गई सडक किनारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक असिम कार्की, गैँडाकोट नगरपालिकाका गङ्गाधर तिवारी र तिवारीका छोरा वर्ष १२ का दिपीन घाइते भएको प्रहरीले जनाएको  छ ।

उनीहरूको टाउको र छातीमा चोट लागेकाले दमौलीस्थित रत्नहरि अस्पतालमा सामान्य उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा थप उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।