बीर अस्पतालका चिकित्सकको आन्दोलन जारी

साउन २३, काठमाडौँ – वीर अस्पतालका आवासीय चिकित्सकहरुले झण्डै दुई हप्तादेखि आन्दोलन जारी राख्दा विरामीहरुको बिचल्ली भएको छ । १३ दिनदेखि जारी आन्दोलनका कारण मुलुककै जेठो अस्पतालको उपचार सेवा अस्तव्यस्त भएको छ । अस्पतालमा भर्ना भएका विरामीहरुले राम्रो उपचार सेवा पाउन नसकेको गुनासो गरेका छन् । वीरका आवासीय चिकित्सकहरुले अस्पतालमा आवश्यक उपकरणको तत्काल व्यवस्था गर्नुपर्ने, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रिक्त पदाधिकारी पदपूर्ति हुनुपर्ने, आवासीय चिकित्सकहरुलाई आवासको व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आन्दोलन गर्दै आएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको महिला बालबालिका जेष्ठ नागरिक तथा समाजकल्याण समितिले वीर अस्पतालमा जारी आन्दोलन अन्त्यको पहल गर्न सरकारलाई निर्देशन दिएको थियो ।