पहिरोपिडितलाई राहत दिन सभासदहरुको माग

साउन २०,  काठमाडौँ-  सभासदहरुले सिन्धुपाल्चोक पहिरोपिडितको व्यवस्थापनगर्न र आवश्यक राहत तत्कालै उपलब्ध गराउन माग गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले पुर्याएका आफन्तलाई सरकारले  समयमानै मुल्याङ्कन गरि पिडितलाई राहत दिन नसकेको भन्दै आलोचना गरेका हुन् ।

उनीहरुले सरकार संवेदनसील नबनेको बताए ।  एमाओवादीका सांसद अग्निप्रसाद सापकोटाले जुरेको पहिरोले पुरिएर हालसम्म ३३ जनाको मृत्यु भएको, १५७ वटा घर पुरिएको, ११७ जना बेपत्ता भएको, ४३६ जना विस्थापित भएको र ४० जना घाइते भएको सदनलाई जानकारी गरएका छन्  ।

उनले उद्धार कार्य र मानवीय पक्षमा सरकार संवेदनशील नभएको गुनासो गर्नुभयो । कांग्रेसका मोहनबहादुर बस्नेतले तल्लो तटीय क्षेत्र र माथिल्लो क्षेत्र खतरा तथा उच्च जोखिममा रहेको भन्दै विषेश ध्यान दिन ध्यानआकर्षण गरेका छन् ।

एमाले सभासद अमृतकुमार बोहराले तत्काल राहतको व्यवस्था गर्न, सङ्कटग्रस्त क्षेत्र घोषणाअनुरुप राहत बाँड्न, स्वास्थ्य शिविर सञ्चालन गर्न र वैकल्पिक राजमार्ग बनाउन माग गरेका छन् ।

सांसद शेरबहादुर तामाङले पहिरो पीडितलाई जिल्ला दैवी प्रकोप उद्धारकोषमा आफ्नो एक महिनाको तलब दिने जानकारी दिँदै अरु सांसदलाई पनि त्यसो गर्न आग्रह गरेका छन् ।