नेपाल विश्वका लागि उत्प्रेरणा : भारतीय प्रम मोदी

साउन २०,  काठमाडौँ –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्पे्ररणा हुने बताएका छन् ।     दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाएका हुन्  ।

नेपालको संविधानसभाका सदस्यहरूसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको सो विज्ञप्तिमा जनाइएको छ । उनले दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको उल्लेख गरेका छन  ।  नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसले एक्काइसौँ शताब्दीका अवसर र चुनौतीहरूलाई सम्बोधन गर्न दुवै देशलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।

 “दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” मोदीले विज्ञप्तिमा भनेका छन् ।     आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः फर्कन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको पनि उहाँले जनाउनुभएको छ । नेपाल र भारतबीच राजनीतिक सम्बन्ध थप दिगो बनाउनुपर्नेमा पनि उहाँले जोड दिएका छन् ।