नेपालका पूर्व प्रशिक्षकको फड्को

 श्रावण २० , काठमाडौँ  –  नेपालका पूर्व प्रशिक्षक स्टेफन कोन्स्टनटाइनको प्रशिक्षणमा रुवान्डा फुटबल टोलीले ठूलो फड्को मारेको छ। रुवान्डाले २०१५ को अफ्रिकन कप अफ नेसन्सको खेलमा पूर्व विजेता कंगोलाई स्तब्ध पार्‍यो। आइतबार किगालीको स्टाडे निएमिराम्बोमा भएको खेलमा रुवान्डाले २–० को नतिजा निकाल्यो। गोल भिन्नता बराबर भएपछि रुवान्डाले छनोट चरणको प्रतिस्पर्धामा १९७४ को विजेता कंगोलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्यो्।

घरेलु टोलीका लागि मिचेल डाहिन्दुकाले ५६औं मिनेटमा खोलेको खातामा अल्बानियामा खेलिरहेका मेडी कागेरेले गोल गर्दै अग्रता दोब्बर पारे। दुई हप्ताअघि भएको पहिलो लेगमा रुवान्डा २–० ले पराजित भएको थियो। तर आशा नमारेका कोन्स्टनटाइनले सुरुमै गोल भए खेलमा फर्कन सकिने बताएका थिए। सुरुमै गोल नभए पनि दोस्रो हाफमा उनको रणनीतिमा रुवान्डाले अफ्रिकी फुटबल इतिहासकै स्तब्धतापूर्ण नतिजा निकाल्यो।प्रशिक्षकका रुपमा कोन्स्टनटाइनले नेतृत्व लिएको पहिलो खेलमा रुवान्डाले लिबियालाई ३–० ले पराजित गरेको थियो। नागरिक दैनिकमा खबर छ ।

हालैमात्र अफिकन नेसन्स कप विजेता लिबियाले पहिलो लेग २–० ले जिते पनि कोन्स्टनटाइनको रुवान्डाले त्यसलाई उल्टाएर ३–२ को अग्रतमा अगाडी बढदैं कंगोसँगको भेट तय गरेको थियो। रुवान्डाले अव समूह चरणमा साविक विजेता नाइजेरिया, पूर्व विजेता दक्षिण अफ्रिका तथा सुडानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। मिनी लिग सेप्टेम्बर देखि नोभेम्बरसम्म चल्नेछ। सबै सात समूहको विजेता र उपविजेता तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने १ टोलीले मोरक्कोमा जनवरी १७ देखि फेब्रुअरी ८ सम्म हुने अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

५१ वर्षे कोन्स्टनटाइन सन् १९९९ मा नेपाल आएका थिए। उनको प्रशिक्षणमा नेपाल सोही वर्ष काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदको फुटबलमा फाइनल पुगेको थियो। २ वर्ष नेपाल बसेका कोन्स्टनटाइन त्यसपछि भारतको प्रशिक्षक बने। तीन वर्ष भारतको राष्ट्रिय टोली हेरेका कोन्स्टनटाइन त्यसपछि अफ्रिकी राष्ट्रहरु मालावी, सुडानको प्रशिक्षक बने। बीचमा उनी इङ्ल्यान्डको पहिलो डिभिजनको टोली मिलवालको पनि पहिलो टोलीका प्रशिक्षक थिए। मिलवाल डिभिजन वानमा झरेपछि कोन्स्टनटाइन फेरी अफ्रिका लागेका थिए।