माओवादीद्धारा विरोधका कार्यक्रम फिर्ता

साउन १८, काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे भ्रमणका क्रममा  नेकपा–माओवादीले गर्ने भनेको विरोधका कार्यक्रम फिर्ता लिएको छ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मोदीको भ्रमणका क्रममा भारत र नेपालबीच ऊर्जा विकास सम्झौता  र ऊर्जा व्यापार सम्झौता, सीमा नक्सा सम्झौतालगायतका सम्झौता नहुने भएकाले आफूहरुको आन्दोलन फिर्ता लिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

भुषालका अनुसार सरकारका प्रतिनिधिहरुले भारतसँग पिडिए, पिपिएलगायतका सम्झौता नहुने जानकारी गराए पछि पूर्व घोषित विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको  छ । भ्रमणका क्रममा माओवादीले मोदीसँग भेटघाटको कार्यक्रम नरहेको समेत जनाएको   छ   ।

आफ्नो पार्टीसहित तेत्तीस दलीय मोर्चा, देशभक्त नेपालीको तीव्र विरोधका कारण नेपाल सरकारको लगानी बोर्ड र भारतीय कम्पनी जिएमआरको बीचमा माथिल्लो कर्णाली परियोजनाको ऊर्जा विकास सम्झौता (पिडिए) गर्नेलगायतका राष्ट्रहित विपरीतका सन्धि हुन नसकेको माओवदीले बताएको   छ    ।