लुटपाट र आपराधिक घटनामा कमी

साउन १७, कञ्चनपुर –  लुटपाट, चोरीलगायतका साना तथा ठूला आपराधिक घटनामा कमी आएको छ ।     सदरमुकाम महेन्द्रनगरको पहुँचबाट पनि टाढा रहेका कञ्चनपुरका गाउँ गाउँमा प्रहरीले अस्थायी चौकी र प्रहरी विट खडा गरेपछि त्यस्ता घटनामा निकै कमी आएको हो ।

कुनै बेला जिल्लामै बढी लुटपाट हुने ठाउँका रुपमा चिनिने बाणी, बङ्क, कलुवापुर, बन्साह, बेलौरी क्षेत्रमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी चौकी तथा विट स्थापना गरेपछि गाउँको शान्ति सुरक्षामा टेवा पुगेको सर्वसाधारणको भनाइ छ ।

जिल्लामा अधिकाशं भू–भागमा वन जङ्गलले ओगटेको यहाँ बढी लुटपाटका घटना जङ्गलकै बाटोमा हुने गर्दथे । माओवादी सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौताले गाउँगाउँमा प्रहरी चौकी पुनः स्थापित भएपछि यस्ता घटनामा कमी आएको प्रहरीले जनाएको छ ।

द्वन्द्वपछि जिल्लाभर ३४ प्रहरी चौकी, विट तथा इलाका स्थापना गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार भत्किएका अधिकांशलाई पुनःनिर्माण तथा मर्मत सभ्मार गरिएको छ ।

सो कार्यालयको तथ्याङ्कअनुसार बेलौरी, त्रिभुवनवस्ती, दोधारा, बेल्डाँडी, झलारी, गुलरिया, रैकवार, गड्डाचौकी, शङ्करपुरमा इलाका प्रहरी कार्यालय स्थापना गरिएका छन् भने अन्य गाविसमा पनि प्रहरी चौकी स्थापना गरिएको छ ।