वन पैदावार प्राधिकरण गठनमा ढिलाइ

साउन १६ , काठमाडौं –  सम्बन्धित निकायमा कर्मचारी व्यवस्थापनको समस्याका कारण ‘नेपाल वन पैदावार प्राधिकरण’को गठनमा ढिलाइ हुने भएको छ । सरकारले वन पैदावारको उत्पादन, सङ्कलन तथा बिक्री वितरणमा एकरुपताका लागि विभिन्न निकायलाई गाभेर प्राधिकरण गठन गर्न लागेको थियो ।

नेपाल सरकारले एक वर्षअघि द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड, वन पैदावार विकास समिति र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई गाभी ‘नेपाल वन पैदावार प्राधिकरण’ गठन गर्ने निर्णय गरेको थियो ।

सरकारको सो निर्णयले सम्बन्धित संस्थान र निकायका कर्मचारीमा कामको एकरुपताका लागि उत्साह देखिएपनि वृत्तिविकासको सुनिश्चितताका लागि भने समस्या भएको हो ।

प्राधिकरणको गठनका लागि वन तथा भू–संरक्षण मन्त्रालयले तयार पारेको मस्यौदामा प्राधिकरणमा काम गर्न इच्छुक सम्बन्धित संस्थामा कार्यरत कर्मचारीले तोकिएको छनोट प्रक्रियामा सहभागी हुनुपर्ने प्रावधान उल्लेख गरेको छ भने सो निकायका कर्मचारीले भने स्वतः प्रवेश पाउनुपर्ने माग गरेका छन् ।