संसद्मा रातो किताबको अभाव खड्कीयो

साउन १३, काठमाडौँ –  राष्ट्रिय योजना आयोगले समयमै ‘रातो किताब’ उपलब्ध गराउन नसक्दा व्यवस्थापिका–संसद्मा विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको छ । उक्त विधेयकमाथि छलफल गर्न संसद् सचिवालयले यही साउन ८ गतेदेखि आगामी भदौ ५ गतेसम्म दैनिक कार्यसूची तयार पारेको थियो । तर कार्यसूचीअनुसार छलफल हुनुपर्ने समय केही दिन व्यतित भए पनि हालसम्म सभासद्हरूले रातो किताब पाउन सकेका छैनन् ।

सचिवालयले तत्काल किताब उपलब्ध गराइदिन आग्रह गरे पनि छपाइकै क्रममा रहेको भन्दै आयोग र अर्थमन्त्रालयले हालसम्म उपलब्ध गराउन सकेको छैन । सरकारले चालु आर्थिक वर्षको बजेट गत असार २९ गते सार्वजनिक गरेको थियो । यही आधारमा हेर्दा पनि बजेट सार्वजनिक भएको आज १६ दिन बितिसकेको छ ।

छपाइमा भएको ढिलाइका कारण महत्वपूर्ण छलफल प्रभावित भएको भन्दै सचिवालयले दैनिक कार्यसूचीबाट विनियोजन विधेयकमाथिको छलफल पर सार्दै आएको छ । सचिवालयले बुधबारका लागि छलफलको कार्यसूची तय गरेको छ । तर भोलि पनि रातो किताब सबै सभासद्ले पाउने हुन् कि होइनन् भन्नेमा सचिवालय एकिन हुन सकेको छैन ।

कुल एक हजार १२० पेज लामो सो किताब छपाइमा समय लागेको कारण समयमै उपलब्ध हुन नसकेका कारण छलफल सात दिन पर सरिसकेको छ । सचिवालयले हरेक मन्त्रालयको विनियोजनका सम्बन्धमा छलफलका लागि तीन–तीन दिनको समय निर्धारण गरेको छ ।

सो विधेयक सदनमा छलफल भएर पारित भएपछि मात्रै मन्त्रालयले तोकिए बमोजिमको योजना कार्यान्वयन गर्ने बाटो खुल्छ । मन्त्रालयको पनि आफ्नै विधि र सीमा रहेका कारण बजेट कार्यान्वयन हुन थप केही समय लाग्छ ।