शिर्ष दलको छलफल आज पनी जारी

साउन १३, काठमाडौँ –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला राखिने एजेण्डा तय गर्न आज पनि प्रमुख तीन दलको बैठक बस्दैछ । आजको बैठकमा भारतीय प्रधानमन्त्रीसँग नेपालको तर्फबाट गरिने प्रस्तावको बारेमा भएको तयारी र थप बिषय पहीचानका लागि उर्जा लगायतका बिभिन्न मन्त्रालयका अधिकारीहरुलाई पनि बोलाइएको छ ।

साँझ ५ बजे बस्ने बैठकमा काङ्ग्रेस, एमाले र एकीकृत माओवादीका नेताहरुले आआफ्नो पार्टीमा भएको छलफलका आधारमा भारतीय प्रधानमन्त्री मोदीसँग उठाउनुपर्ने बिषयको बारेमा पनि प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिने भएका छन् । बैठकमा भारत संग गर्ने भनिएको विवादित बिद्युत ब्यापार सम्भलौताका विषयमा छलफल हुने छ ।

यसअघि हिजो बसेको सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा मुख्य प्रतिपक्षि दल एकिकृत नेकपा माओवादीको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको गृहकार्य गर्ने जिम्मा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उर्जा मन्त्री राधा ज्ञवालीलाई दिने निर्णय गरेको थियो । मोदीको भ्रमणका बिषयमा सम्बन्धीत विभिन्न मन्त्रालयका बिषय समेट्न मन्त्री र सचिवहरुसंग पनि छलफल गर्ने तिन दलको बैठकले निर्णय गरेको थियो ।