बोको हरामको आक्रमणमा १५ को मृत्यु

साउन  १२ काठमाडौँ –  क्यामरुनको उत्तरी भागमा बोको हरामले गरेको दुई आक्रमणमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । बोकोहरामले  उपप्रधानमन्त्रीका पत्नीका साथमा करिब एक दर्जन व्यक्तिलाई अपहरण गरेको बिबिसीले जनाएको  छ ।

नाइजेरियाको इस्लामी कट्टरपन्थीले आइतबार सुल्तान कोलोफाता तथा मुलुकको एक वरिष्ठ राजनीतिज्ञ तथा उपप्रधानमन्त्री अमादु अलीको घरमा गरेको दुई आक्रमणमा मर्नेको सङ्ख्या १५ पुगेको छ ।      एक सरकारी प्रवक्ताले सुल्तान सिनी बाउकर लामिन, उहाँकी पत्नी तथा उनीहरूका पाँच बालबालिकालाई समेत बन्धक बनाइएको जानकारी दिए ।

मर्नेमा क्यामरुनको सेनाको ‘र्यापिड इन्टरभेन्सन बटालिन (बीआईआर)’ का दुई सैनिक पनि परेको आतङ्कवादीविरुद्ध कारबाहीमा संलग्न अर्का एक सैनिकले बताए । यस आक्रमणमा करिब २०० लडाकू संलग्न भएको क्यामरुनको सञ्चार मन्त्रालयका इसा चिरोमा बेकरीले स्थानीय टीभीलाई बताए ।

बोको हरामले अप्रिल १४ मा नाइजेरियाका २०० स्कुले छात्राको अपहरण गरेपछि अन्तर्राष्ट्रिय आलोचनापछि क्यामरुनले उनीहरूविरुद्ध कारबाही बढाएको थियो भने यसपछि यो आक्रमण भएको हो ।