भारतमा पहिरोमा परी नेपालीसहित पाँचको मृत्यु

साउन १२, बैतडी ।

भारतको पिथौरागढ जिल्लामा गएको पहिरामा परी एक नेपाली मजदुरको मृत्यु भएको छ ।  पिथौरागढ जिल्लाको पाँगला भन्ने ठाउँमा पहिरो जाँदा बैतडी मठैराजका शोभानसिंह बोहराको मृत्यु भएको हो ।

उक्त घटनामा परी अन्य पाँच भारतीयको समेत ज्यान गएको तथा बेलापुर डडेल्धुराका राजेश खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सडक मजदुरका रुपमा कार्यरत उनीहरू आइतबार राति सडकमा हिँडिरहेका बेला माथिबाट पहिरो गएको मृतकका आफन्तले बताए ।     घटनास्थल दार्चुला सदरमुकामदेखि ३२ किमिको दूरीमा छ ।

पहिरामा १२ भारतीय घाइते भएको र उनीहरूको भारतकै पिथौरागढ जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।