लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

साउन १२, विराटनगर – विराटनगर भन्सार कार्यालय, रानीले आव ०६९-०७० को तुलनामा गत आर्थिक वर्षमा  तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । जुन लक्ष भन्दा पनी बढी राजस्व हो । आव ०६९-०७० मा रु १३ अर्ब, ३७ करोड, २२ लाख २९ हजार राजस्व सङ्कलन गरेकामा गत आवमा रु १६ अर्ब, ३९ करोड ११ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्षमा रु १५ अर्ब ८७ करोड ८० लाख राजस्व उठाउने लक्ष्य निर्धारण गरेकामा कार्यालयले लक्ष्यभन्दा रु ५१ करोड बढी राजस्व सङ्कलन गरेको हो ।      सोअन्तर्गत कार्यालयले भन्सार शीर्षकमा रु पाँच अर्ब ७६ करोड दुई लाख ७५ हजार, मूल्य अभिवृद्धि करमा रु नौ अर्ब ४४ करोड ६६ लाख ३० हजार, अन्तःशुल्क शीर्षकमा रु ८४ करोड नौ लाख ७३ हजार राजस्वबापत सङ्कलन भएको छ ।

आयातित वस्तुको यथार्थ मूल्याङ्कन, चोरी निकासी र पैठारीमा न्यूनीकरण र राजस्व प्रशासनमा गरिएको निरन्तर सुधारको कारण राजस्वमा वृद्धि भएको छ । औद्योगिक नगरी विराटनगरका अधिकांश उद्योगका लागि कच्चापदार्थ अत्यधिक मात्रामा यस नाकाबाट आयात हुँदै आएको छ ।

अत्यधिक मात्रामा आयातित हुने वस्तुमा उद्योगका लागि सिआरसिट, एमएस बिलेट, पोलिथिन दाना, भटमासको कच्चातेलका साथै हाइस्पिड डिजेल, मोटरसाइकल, पेट्रोल, सुपारीलगायतका सामान छन् ।