गर्भवतीलाई बाडिँएको कुखुराले गाउँमै संक्रमण

साउन १२, परासी – गर्भवती महिलाको पोषण अवस्था सुधार्न जिल्लामा सञ्चालन गरिएको सुआहारा परियोजनाले वितरण गरेका बिरामी कुखुराका कारण १० गाविसमा रोगको संक्रमण फैलिएको छ।

वितरण गरिएका अधिकांश कुखुरा धमाधम मर्न थालेपछि अन्य निरोगी कुखुरा पनि बिरामी पर्न थालेका छन्। गाउँमा कुखुरा बिरामी परी मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले उपचारका लागि टोली खटाएको पशु चिकित्सक उत्तम आचार्य बताए ।

वितरण गरेका कुखुरा मर्न थालेपछि मासु खाएका गर्भवती महिला त्रसित बनेका छन्। पशु चिकित्सकको टोलीले त्यस्ता कुखुराको मासु नखान अनुरोध गरेको छ भने वितरण कार्य रोक्न परियोजनालाई आग्रह गरेको छ।

परियोजनाले भने अटेर गर्दै अन्य गाविसमा पनि कुखुरा बाँड्न थालेको छ। कमिसनको खेलमा परेर परियोजनाले वितरण गरेका करिब ५० लाखबराबरका कुखुरा मरेका छन्। अन्य कुखुरामा पनि रोगको संक्रमण बढेपछि स्थानीयले क्षतिपूर्ति माग गरेका छन्।

गर्भवती महिला र बालबालिकाको पोषणमा सुधार ल्याउन जिल्लाका १८ गाविसमा लोकल कुखुरा वितरण कार्यक्रम सञ्चालन गरेको सुआहारा परियोजनाका प्रमुख रामप्रसाद अधिकारीले बताए।
वितरण गरिएका १० गाविसमा रोग देखापरेको र उपचारका लागि जिल्ला पशु सेवा कार्यालयसँग समन्वय गरेको उनले बताए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।