सातौँ विश्व हेपाटाइटिस दिवस मनाइदै

साउन १२, काठमाडौँ –  विश्व हेपाटाइटिस दिवसका दिन आज नेपालमा पनि विविध कार्यत्रम गरी मनाइदैछ । यसपटकको सातौँ हेपाटाइटिस दिवस  ‘हेपाटाइटिस फेरि एकपटक सोचौँ, यसलाई बुझौँ र यस रोगबारे सही प्रकारले सूचित होऔँ’ भन्ने जनचेतनामूलक नाराका साथ पदयात्रा निकालिएको छ ।

लिभर फाउन्डेसन, द लिभर क्लिनिक, माइक्रो प्वाइन्ट नेपाल, रोटरी क्लब अफ भादगाउँको संयुक्त आयोजनामा निकालिएको सो यात्रा रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भई प्रदर्शनी मार्ग, भद्रकाली, सहिदढोका, नयाँ सडक, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा आएर समापन गरिएको थियो । सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्वभर हेपाटाइटिस दिवस मनाउन थालिएको भएपनि नेपालमा सन् २०१० को जुलाई २८ देखिमात्र मनाउन सुरु गरिएको हो ।

लिभर फाउन्डेसनका अध्यक्ष डा सन्तोषमान श्रेष्ठले हेपाटाइटिस ए र इ दूषित पानीबाट सर्ने हुँदा स्वच्छ पीउने पानीको प्रयोग गरी खानपिनमा सन्तुलन कायम गरेमा सो रोगबाट सङ्क्रमण नहुने बताए । उनले  हेपाटाइटिस बि र सीले कलेजोको दीर्घकालीन सङ्क्रमण गराउने र त्यसले कलेजोमा क्यान्सर तथा कलेजो असफलसमेत गराउन सक्ने हुँदा त्यसप्रति सतर्क हुनुपर्नेमा जोड दिए । नेपालमा करिब तीन लाख सो रोगबाट सङ्क्रमित रहेको बताइएको छ ।