रिम्पोचेको शव ल्याइँदै

 साउन १२, काठमाडौं – जर्मनीमा डेढ महिनाअघि निधन भएका बौद्ध धर्मगुरु श्यामर रिम्पोचेको शव मंगलबारसम्ममा नेपाल ल्याइने भएको छ । छिमेकी चीनले यसबारे कुनै सरोकार नरहेको स्पष्ट पारेपछि सरकारले रानीवनस्थित सर्मिनाभ गुम्बामा समाधिका लागि अनुमति दिन लागेको हो । सरकारले आवश्यक कागजात दिएपछि रिम्पोचेको शव भारतको कालिङपोङबाट भुटान हुँदै ल्याइने भएको छ । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्लको संयोजकत्वमा परराष्ट्र, गृह र पर्यटन तथा संस्कृति मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरेर शव ल्याउन दिन कागजी प्रक्रिया थालेको छ ।

समितिले आइतबार मृतक रिम्पोचेको संस्थाको प्रतिनिधित्व गर्ने डा। रमेश ढुंगेल, रोशन बज्राचार्य र लक्ष्मीदास मानन्धरसँग सिंहदरबारमा छलफल गरेको थियो । इतिहासविद् ढुंगेलले रिम्पोचेको शव ल्याउन औपचारिक रूपमा अनुमति दिन सरकारले प्रक्रिया थालेको र त्यही विषयमा छलफल भएको जानकारी दिए । जर्मनीमा २८ जेठमा निधन भएका रिम्पोचेको ४९ औँ दिनका अवसरमा १५ साउनमा रानीवनमा समाधि गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार मुख्यसचिव लीलामणि पौडेललाई बोलाएर शव ल्याउने अनुमतिका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीले चिनियाँ राजदूतावाससँग पनि आवश्यक सल्लाह गर्न निर्देशन दिएपछि पौडेलले चिनियाँ राजदूत ऊ चुन्ताईसँग छलफल गरेका थिए । गत बुधबार रिम्पोचेका भाइ जिग्मी छिरिङ उथापले प्रधानमन्त्री कोइरालालाई भेटेर दाजुको शव ल्याउन अनुमति मागेका थिए । आजको नयाँ पत्रिकामा मा खबर छ ।