२२ हजार विद्यार्थीसँगै २८ अर्ब बाहिरियो

साउन ११, काठमाडौं – उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अहिलेसम्मकै बढी विद्यार्थी बिदेसिएका छन् । गत आर्थिक वर्षमा युरोप, अस्ट्रेलिया, अमेरिकालगायतका ७१ देश जान २८ हजार १ सय २६ विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिएको शिक्षा मन्त्रालय छात्रावृत्ति महाशाखाका उपसचिव प्रकाश महर्जनले जानकारी दिए । ‘लेटर लिनेमध्ये ८० प्रतिशतभन्दा बढी विद्यार्थी जान्छन्,’ उनले भने, ‘मन्त्रालयको अहिलेसम्मको रेकर्डमा इतिहासकै धेरै विद्यार्थी गएका छन् ।’  लेटर लिने २८ हजार १ सय ३६ मध्ये २० प्रतिशत घटाउँदा पनि २२ हजार ५ सय ८ विद्यार्थी विदेश गएको अनुमान छ । उनीहरुबाट २८ अर्ब रुपैयाँ हाराहारी बाहिरिएको हुनसक्ने सरोकारवालाले बताएको कारोबारमा खबर छ ।
शैक्षिक परामर्शदाताका अनुसार अस्ट्रेलिया जाने विद्यार्थीले सरदर १५ देखि २० लाख, जापान जानेले १० देखि १२ लाख र अमेरिका जानेले १० देखि १३ लाख रुपैयाँ खर्चिएका छन् । उक्त रकमलाई औषतमा १२ लाखले हिसाब गर्दा पनि २२ हजार ५ सय ८ विद्यार्थीबाट करिब २७ अर्ब ९६ लाख रुपैयाँ हुन्छ । भारत जाने विद्यार्थीलाई पनि जोड्ने हो भने अझै धेरै हुन्छ । नेपाल(भारत खुल्ला सीमा भएका कारण वाषिर्क १८ देखि २० हजारसम्म विद्यार्थी भारत जाने गरेको शैक्षिक परामर्श संघले जनाएको छ ।