विमल बेल्जियम लागे

साउन ११, काठमाडौं –  राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर शनिबार बेल्जियम गएका छन् ।  यु- १६ टोलीका कप्तान विमाल बेल्जियन क्लब एनडरलेकसँग आबद्ध भएका छन् । उनीसँग क्लबको एक वर्षे सम्झौता छ ।  सम्झौता अनुसार विमलले एन्डरलेकको एकेडमेमीमा निःशुल्क प्रशिक्षण पाउनेछन् । दुई महिना एन्डरलेकको विशेष प्रशिक्षण र अभ्यास खेल खेलर फर्किएका विमलले जेठ १५ मा क्लबले सम्झौता गरेको जानकारी पाएको नागरिकमा खबर छ ।

एन्डरलेक पुर्‍याउन सहयोग गरेका प्रशिक्षक कोस्टरमार्फत उनले सम्झौताको खबर पाएका थिए । बंगलादेशका तत्कालीन सहायक प्रशिक्षकका रुपमा नेपाल आउँदा डच नागरिक कोस्टरले साफ च्याम्पियनसिपमा विमलको खेल देखेका थिए ।एएफसी यु १६ च्याम्पियनसिपको तयारीमा रहेको युवा टोली अगस्ट पहिलो साता अभ्यास तथा प्रशिक्षणका लागि बेल्जियम जाँदैछ ।

विमल पनि टोलीसँगै बेल्जियम जाने तयारीमा थिए । तर क्लबले आन्तरिक प्रशिक्षणमा बोलाएका कारण विमल शनिबार नै बेल्जियम गएको यु- १६ टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । उनले भने, ‘विमल टोलीका कप्तान हुन् । टोलीमै रहेर प्रशिक्षण गर्दा टिम समन्वय राम्रो बन्दै जान्थ्यो । तर विमल बेल्जियम जाँदा पनि हामीलाई घाटा छैन् । किनकीउनी युरोपको राम्रो क्लबमा प्रशिक्षण गर्न जाँदैछन् । उनको अनुभवले हामीलाई थप राम्रो र बलियो टोली निर्माणमा सहयोग पुग्नेछ ।’