पार्टीलाई एकतृत बनाउन जरुरी : खनाल

साउन १०, काठमाडौँ  –  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको नवनिर्वाचित कार्यसमितिले पार्टीलाई सङ्गठित र एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले आज गरेको ‘नवौं राष्ट्रिय महाधिवेसनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा ३६ औँ पुष्पलाल स्मृति दिवस’ कार्यक्रममा उहाँले महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि समूहगत प्रतिस्पर्धा भएपनि अब सबैलाई एकताबद्ध बनाएर लैजानु नेतृत्वको जिम्मेवारी भएको बताएका हुन् ।

वरिष्ठ नेता खनालले निर्वाचनमा दुई समूह छुट्टाछुट्टै बनाएर प्रतिस्पर्धामा उत्रिए पनि दुवै समूहबाट सक्षम र योग्य व्यक्ति आएका छन्, तिनीहरुलाई सङ्गठित र एकताबद्ध बनाएर लैजानु नेतृत्वको दायित्व भएको उल्लेख गरेका छन् ।  योग्य र प्रतिवद्व कार्यकर्तालाई मात्र पार्टी सदस्यता वितरण गर्दा ध्यान दिनुपर्ने भन्दै पूर्वअध्यक्षसमेत रहनुभएका खनालले पार्टीको १० औं महाधिवेशनसम्म पाँचलाख पार्टी सङ्गठित सदस्यता पुर्याउनु लक्ष्य पूरा गर्न सबै क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिएका छन्    ।