भित्रीमधेस आधारभूत सेवाविहीन, बाढीको सन्त्रास कायमै

साउन १०, डडेल्धुरा- साउनको पहिलो साता आएको भीषण बाढीले क्षतिग्रस्त डडेल्धुराको भित्रीमधेस क्षेत्रका बासिन्दा एक सातादेखि आधारभूत सेवाबाट वञ्चित भएका छन् । एकातिर करोडौँको क्षति भएको छ भने अर्कातिर फेरि गाउँमा बाढी पस्ने सन्त्रास फैलिएको छ ।  अविरल वर्षापछि आएको बाढीका कारण भित्रीमधेसमा एक सातादेखि सबै आधारभूत सेवा अवरुद्ध भएका छन् । जोगबुढा, आलिताल र शीर्षमा पहिरो र बाढीका कारण यातायात र टेलिफोन सेवा बन्द भएको छ ।  त्यसैगरी ३१ वटा विद्युत् पोलसहित १५ किलोमिटर तार बगाएपछि विद्युत् सेवा पनि बन्द हँदा हजारौँ बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

स्वास्थ्य सेवासहित खाद्यवस्तुको आयात निर्यात र आवागमनमा समेत कठिनाइ उत्पन्न भएको छ । महाकाली, रङ्गुन, पन्तुरा, सुनखोलालगायतका नदीमा आएको बाढीका कारण ती गाविसमा तीन दर्जन बढी परिवार विस्थापित भएका छन् । रोपाइँ गरिएको एक हजार ११५ रोपनी खेत बगाएको जिल्ला दैवीप्रकोप समितिका अध्यक्षसमेत रहेका प्रजिअ जोशीले जानकारी दिनुभयो । त्यस्तै आठ वटा घर भत्किएका १९ वटा चौपाया बगाएको जोशीले जानकारी दिए ।

आपत्कालीन उद्धारको कार्यबाहेक आफूहरुका लागि राहतका कार्यक्रम सञ्चालन नगरिएको प्रभावित क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । फेरि पनि बाढीको भय नहटेकाले स्थानीय बासिन्दामा सन्त्रास कायमै रहेको छ । जिल्लाको आधाभन्दा बढी जनसङ्ख्या रहेको भित्रीमधेस क्षेत्रमा विभिन्न सेवा अवरुद्ध भएका कारण जनजीवन कष्टकर बन्नुका साथै स्थानीय बासिन्दा भयभित भएका  छन् । अवरुद्ध सेवा सुचारु गर्न पहल भइरहेको भए पनि क्षति धैरै बढी भएकाले सबै सेवा नियमित हुन केहीदिन लाग्ने दैवीप्रकोप उद्धार समितिले जनाएको छ । भित्रीमधेस क्षेत्रका बासिन्दा बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन् ।