राष्ट्रपति यादव – भारतीय विदेशमन्त्री भेटवार्ता

साउन १०, काठमाडौँ  – राष्ट्रपति डा रामवरण यादवसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेकी छिन्  । सो अवसरमा नेपाल–भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको राष्टपतिका प्रस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरुले दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीले विचार आदानप्रदान गरेका थिए  ।

नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट ठूलो सहयोगको अपेक्षा आफूले गरेको राष्ट्रपतिले उल्लेख गर्नुभएको र त्यसको प्रत्युत्तरमा विदेशमन्त्री स्वराजले सकारात्मक जवाफ दिएको दाहालले बताए । भारतीय विदेशमन्त्रीले तेइस वर्षपछि भएको भारत–नेपाल संयुक्त आयोगको बैठक, त्यसको कार्यसूची, दुवै देशका अधिकारीबीच प्राविधिक तहमा भएका समझदारी, भावी सहकार्यका योजना तथा आपसी हित र चासोका विषयबारे राष्ट्रपतिलाई सङ्क्षिप्त जानकारी गराएकी थिइन् ।