मोदी सरकारको उच्च प्राथमीकतामा नेपाल

साउन ९, काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो मुलुकमा हालै गठन भएको नयाँ सरकारको उच्च प्राथमिकतामा नेपाल रहेको बताएकी छिन् । नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा  भागलिन शुक्रबार नेपाल आइपुगेकी स्वराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण पश्चात भारत सरकारको प्राथमिकतामा नेपाल उच्च स्थानमा रहेको बताएकी हुन् ।

 ‘विदेशमन्त्री भएपछिको दुई महिनाको अवधिमा पहिलोपटक नेपाल भ्रमणमा आएकी उनले भारतका लागि नेपाल अत्यन्तै महत्वपूण भएको र उसले दिएको प्राथमिकताको प्रमाण पनि आफ्नो भ्रमणबाट प्रष्टिएको उल्लेख गरिन् । धेरै आशा र अपेक्षा लिएर आफू भ्रमणमा आएको बताउँदै विदेश मन्त्री स्वराजले त्यसबाट भारत–नेपाल सम्बन्ध अझ सुदृढ एवम् मजबुत हुने बताइन् ।

एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी विदेशमन्त्रीका साथ विदेश सचिव सुजाथा सिंह, विदेश मन्त्रालयमा आर्थिक सहयोगसम्बन्धी मामिला हेर्ने सचिव सुजाता मेहतालगायत उच्च अधिकारी छन् । तेइस वर्षपछि आयोगको तेस्रो बैठक भोलि राजधानीमा हुँदैछ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी स्वराज तीनदिने भ्रमण पूरा गरी आइतबार भारत फर्किने बताइएको  छ ।