६ वर्षमा चिनियाँ रेल नेपाल जोडिने

साउन ९, काठमाडौं -नेपाल, भारत र भुटानी सिमासम्म रेल कुदाउँने चिनियाँ सपना चाँडै पूरा हुने भएको छ। ल्हासा हुँदै तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग छ वर्षभित्र नेपालको सिमा क्षेत्र केरुङ जोड्ने चीनले औपचारिक घोषणा गरेको आजको नागरिक दैनिकमा  खबर छापिएको छ। मंगलबार १४ औँ ट्रयाकको परीक्षणपछि ल्हासा–सिगात्से रेलमार्ग निर्माण पूरा भएको जनाउँ दिँदै बुधबार आफ्नो वर्वपेज मार्फत २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सिमा क्षेत्रसम्म विस्तार गरिने चीन जानकारी दिएको हो।

‘ल्हासा–सिगात्से २ सय ५३ किलोमिटर रेलमार्ग निर्माण मंगलबार सम्पन्न भएको छ, अगस्त महिनाबाट रेल सञ्चालनमा आउने छ’, तिब्बत रेलवेका उपप्रमुख याङ युलिनलाई उद्धृत गर्दै चीन सरकारको वेभसाइट जीओभी डट सिएनले लेखेको छ, ‘चीनको १३ औँ पञ्च वर्षीय योजना ९२०१६–२०२०० भित्र सिगात्सेबाट दुई वटा रेल लिङ्क विस्तार गरिनेछ– नेपालको सिमाक्षेत्र केरुङ र भारत तथा भुटानको सिमा क्षेत्र यादुङसम्म ।’

चीनको स्वशासित प्रदेश तिब्बत सरकारका प्रमुख लोसान जमकानले गतवर्ष ल्हासामा मुख्य सचिव लीलामणि पौडेलसँगको छलफलमा ल्हासा–सिगात्से खण्ड पुरा भएपछि नेपालको सिमा क्षेत्र केरुङतिर रेलमार्ग विस्तार गरिने बताएका थिए । तिब्बत रेलमार्ग केरुङसम्म विस्तार गर्ने योजना औपचारिक रुपमा पहिलो पटक सार्वजनिक भएको हो।

ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालका अनुसार अगस्ट पहिलो साता उद्घाटन गर्ने तयारी भइरहेको ल्हासा–सिगात्से रेलमार्गले नेपाल–चीन व्यापार केही सहज हुनेछ।

‘पञ्च वर्षीय योजनामै पर्ने भएपछि सिगात्सेबाट रेलमार्ग केरुङसम्म जाने अब पक्का भयो’, बस्यालले तिब्बतको नयाँ योजनाबारे भने, ‘नेपालले औपचारिक आग्रह गरे केरुङबाट नेपालसम्म लैजान पनि चीन सकारात्मक छ।’

तिब्बत रेलवेका उपप्रमुख याङले ल्हासाबाट निङ्ची तथा पूर्व एसिया जोड्ने अर्को खण्ड पनि चाँडै निर्माण शुरु हुने जानकारी दिए। चीन–भारतबीच सिमा विवाद रहेको निङची तथा भुटान र भारतको सिक्किम नजिक पर्ने यादुङ भूरणनीतिक महत्वका क्षेत्र हुन् । चीन र भारतबीच सिमा समस्या जटिल भएकाले हिमाली क्षेत्रमा रेल तथा सडकमार्गको विस्तार चुनौतीपूर्ण बन्दै आएको छ ।