नयाँ संविधानपछि आर्थिक क्रान्ति–मन्त्री थापा

साउन ७, काठमाडौँ – उद्योग मन्त्री कर्णबहादुर थापाले तोकिएको समयमा संविधान जारी गरेपछि आर्थिक क्रान्तितर्फ मुलुक अघि बढ्ने बताएका छन् ।     नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्याङ्जाको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले परम्परागत शैलीमा उद्योग फस्टाउन नसक्ने प्रस्ट पारेका छन् । सो अवसरमा उनले  आर्थिक क्रान्ति र आत्मनिर्भरताको अभियान लिएर साना उद्योगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा अघि बढ्नुको विकल्प नरहेकामा पनि जोड दिए । कार्यक्रममा पूर्व सभासद् पद्मा अर्याल, केन्द्रीय अध्यक्ष जगन्नाथ नेपाल, केन्द्रीय उपाध्यक्ष कृष्णनाथ अधिकारी, केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठ र शेरजङ्ग अधिकारी, क्षेत्रीय कोषाध्यक्ष लालुमाया रेग्मीलगायतले मन्तव्य राखेका थिए । स्याङ्जामा दुई हजार ९०० उद्योग दर्ता भए पनि हाल एक हजार ३००  वटा मात्र सञ्चालनमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्याङ्जाले जनाएको  छ ।