वीरगन्जमा बढे बिरामी

साउन ७ वीरगन्ज – गर्मी बढेसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भाइरल ज्वरो र जन्डिसका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरो (फिवर)का बिरामी हुने गरेका छन् ।

जन्डिस रोगको शङ्कामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै ४० जना रोगीलाई जन्डिस लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रामाशङ्कर ठाकुरका अनुसार डरलाग्दो किसिमले वृद्धि हुँदै गएको यस्तो रोग लागेको शङ्का हुने बित्तिकै चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिनुपर्दछ ।

भाइरल ज्वरो र जन्डिसका बिरामी मात्र होइन्, पखाला, पेट दुख्ने र ज्वरोको उपचारका लागि अस्पताल आउने बिरामीको चापमा समेत वृद्धि भएको छ । चिकित्सकका अनुसार बिरामीको चाप बढ्न थालेपछि शय्याको अभावमा उनीहरूलाई भुइँ वा बरन्डामै राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्थाको सृजना भएको छ ।