परनिर्भरता हटाउन महमा लगानी आवश्यक

साउन ६, काठमाडौँ –

नेपाल महमा समेत परनिर्भर भएपछि सरकारले निजी क्षेत्रका उद्यमीहरूलाई मह उत्पादनमा लगानी गर्न आह्वान गरेको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गर्दै आएको नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले जनाएको छ ।

राजधानीमा आयोजीत कार्यक्रममा कृषि बहस कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानी गर्न सरकार इच्छुक रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कृषि उत्पादनमा सरकारको कर नीति स्पष्ट भए निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न सकिने बताए ।

आर्थिक वर्ष ०७१-०७२ को बजेटले कृषि उत्पादनका लागि सरकारले रु एक अर्बको ब्याज रकम विनियोजन गरेको छ । व्यावसायिक खेती गर्न चाहने सहकारी, कम्पनी तथा कृषक समूह एवम् निजी फर्म सञ्चालकका लागि सरकारले सो रकम विनियोजन गरको हो ।

नेपालमा मेलिफेरा र केरेना जातको मौरीबाट व्यावसायिक मह उत्पादन कार्य हुँदै आएको छ । मेलिफेराका ३५ हजार घार र केरेनाबाट एक लाख २५ हजार गोलोद्वारा करिब २१ लाख केजी मह उत्पादन हुँदै आएको बताइन्छ ।

उत्पादित मह स्थानीय बजारमा खपत हुँदै आएको छ । सरकरले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । जसका लागि मौरी घार तथा मौरीका लागि २० करोड विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाका सचिव रामप्रसाद पुलामीले जानकारी दिए  ।