प्रहरी जवान जोशीको रहस्यमयी मृत्यु

साउन ६, चितवन –

सशस्त्र प्रहरी जवान गणेश जोशीको रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । सीमा सुरक्षाबल कञ्चनपुरमा कार्यरत जोशीको आज बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको  छ । दुईदिनअघि नारायणगढको लायन्सचोकमा रहेको रेवा लजमा बसेका उनी अकस्मात् अचेत बनेपछि उपचारका लागि  भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा आज बिहान ८ बजे जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए  । कञ्चनपुरको झलारी गाउँ विकास समिति वडा नम्बर– ९ स्थायी  घर भएका ३० वर्षीय जोशी आइतबार दिउँसो सो लजमा एक महिलासँगै बसेका थिए ।

राति  ११ः३० बजे  अकस्मात् उनी अचेत बनेपछि अस्पताल भर्ना गरिएको थियो । जोशीसँगै रहेकी पूर्वी चितवनको पिप्ले घर भएकी ती महिलालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जोशी बसेको कोठामा विषादीको डब्बा फेला परेको प्रहरीले जनाएको छ ।