३२ औं वीपी स्मृति दिवस मनाइदै

साउन ६,काठमाडौ – आज ३२ औ वीपी स्मृति दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाली कांग्रेसले आज वीपी स्मृति दिवसको सन्दर्भ पारेर वीपी जन्म शाताब्दीका कार्यक्रमहरुको थालनी गर्दैछ । यसै वर्ष वीपीको जन्म शताब्दी पनि परेकोले नेपाली कांग्रेसले आजदेखी “विपी विचार यात्रा” को सुरुवात गर्दैछ । यात्राको आज विराटनगरस्थित जुट मिलमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुहुनेछ ।

वीपीलाई विराटनगरबाट पक्राउ गरी अड्डासार गर्दै काठमाडौं सुन्दरीजल ल्याइएको बाटोको पैदल यात्रा गर्ने गरी वीपी विचार यात्राको थालनी गर्न लागिएको हो । यात्रा भदौं २४ गते सुन्दरीजलमा आएर टुङ्गिने छ ।

नेपालमा रहेको एकतन्त्रीय जहानिया राणा शासन हटाई प्रजातन्त्र स्थापना गर्न नेता बीपी कोइरालाले जनक्रान्तिको थालनी गर्नुभएको थियो । उहाँकै नेतृत्वमा जनक्रान्ति सफल भई विसं २००७ सालमा नेपालमा पहिलोपटक प्रजातन्त्रको स्थापना भएको थियो । २०१५ सालमा भएको प्रथम संसदीय निर्वाचनमा नेपाली कांग्रेस विजयी भएपछि नेता कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनु भएको थियो ।

तत्कालीन राजा महेन्द्रले वि सं २०१७ सालमा संसदीय व्यवस्था विघटन गरी पाचायती व्यवस्था स्थापना गरे लगत्तै बीपी जेल पर्नुभएको थियो । त्यसको केही वर्षेपछि उहाँ निर्वासनमा जानुभएको थियो । भारत निर्वासनपछि नेता बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका विभिन्न मोडमा उहाँले अनुसरण गरेको नीति र प्रदान गरेको नेतृत्वबारे चर्चा गरी बीपी स्मृति दिवस मनाउने गरिन्छ । उहाँले प्रतिपादन गरेको नेपाली कांग्रेसको आदर्श प्रजातान्त्रिक समाजवाद अहिले पनि नेपाली कांग्रेसले अंगीकार गरिरहेको छ । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संगठनहरुले आज देशभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गर्दैछन् ।