महन्थ ठाकुरले गाडी किन्दा तमलोपामा विवाद

साउन ६ , काठमाडौं –

तमलोपा अध्यक्ष महत्थ ठाकुरले पार्टीको पैसा चलाएर केही दिनअघि खरिद गरेको गाडीलाई लिएर विवाद भएको छ । तमलोपाका नेताहरुले पार्टीको कोषबाट ठाकुरले छोरीको नाममा गाडी खरिद गरेको भन्दै अध्यक्षको आलोचना गरेका छन् ।

अध्यक्ष ठाकुरले करिब १५ दिनदेखि कालो(निलो रङको बा ११ च ७७८० नम्बरको गाडी चढ्न थालेको नयाँ पत्रिकामा खबर छ । राकेश झा र ठाकुरका सम्धी उमाकान्त झाले सिप्रदीको सोरुमबाट २७ लाख रुपैयाँमा सो गाडी झिकाएको स्रोतको भनाई छ । गाडी अध्यक्ष ठाकुरकी छोरी मीनाक्षीको नाममा दर्ता छ । मीनाक्षी प्रसूतिगृहकी डाक्टर हुन् ।
तमलोपाले संविधानसभामा समानुपातिक सभासद् सिफारिस गरेका नेताहरुबाट लिएको आर्थिक सहयोगबाट गाडि खरिद गरिएको स्रोतको भनाई छ । स्रोतका अनुसार समानुपातिक सभासद्मा सिफारिस गरिएका नेताहरुबाट सहयोग भन्दै रकम उठाउने जिम्मेवारी अध्यक्ष ठाकुरका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लालाई दिएका थिए ।

सभासद्मा सिफारिस गरिएकाहरुबाट उठाइएको एक करोडभन्दा बढी रकम शुक्लासँग रहेको स्रोतको दाबी छ । शुक्ला ठाकुरको सबैभन्दा नजिकको मानिन्छन् ।
पार्टीको नाममा उठाएको रकमबाट गाडी किनिएकाले गाडीको स्वामित्व पनि पार्टीभित्रै हुनुपर्ने नेताहरुको दाबी छ ।