पानीको बहाब बढेसँगै महाकालीद्धारा तटबन्ध भत्काउन सुरु

साउन  ५, कञ्चनपुर –

बर्षायाम सुरु भएसँगै बढ्न थालेको महाकाली नदीको बहाबका कारण नदीले तटबन्ध भत्काउन सुरु गरेको छ ।     जनताको तटबन्ध कार्यालय कञ्चनपुरद्वारा भीनपा–११ भुजेलामा निर्माणाधीन तटबन्ध बाढीले भत्काउन सुरु गरेको स्थानीय जनताले बताएका छन् ।

चुरे क्षेत्रबाट बगेर आएको पानीका कारण तटबन्ध भत्किएको स्थानीय गणेश थापाले जानकारी दिनुभयो । चुरे क्षेत्रबाट आएको पानीले वारिपट्टिको तटबन्ध भत्काएको छ ।  गाउँतिर तटबन्ध भत्किएपछि स्थानीय जनता चिन्तित बनेका छन् । “विगतका वर्षमा बाँध नभएका कारण महाकाली नदीले कटानी गर्दथ्यो, भने अब बाँध बाँधेपछि गाउँबाट बगेर आउने पानीले बाँध काटेको स्थानीय जनताकाृ गुनासो  छ ।

उक्त क्षेत्रमा अहिले सुरक्षाकर्मीले बाँध बाँधिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीका अनुसार भुजेला क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले तटबन्ध निर्माण गरिरहेका छन् । बाहिरबाट आएको पानीले तटबन्ध भत्काएपछि कटानी भएको बाँधमा अस्थायी तटबन्ध बनाउने काम भइरहेको छ ।