नेपाल–भारत द्विपक्षीय विद्युत् व्यापार बैठक स्थगित

साउन ५, काठमाडौ– विद्युत् व्यापार सम्बन्धि विषयमा आजवाट हुने भनिएको नेपाल–भारत द्विपक्षीय बैठक स्थगित भएको छ । प्रधानमन्त्री सुशील कोइराला मुलुकबाहिर रहनुभएको र सरोकारवाला पक्षसग छलफल नभएको भन्दै ऊर्जा मन्त्रालयले सो बैठक तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
बैठक आज र भोली भारतको राजधानी नयादिल्लीमा आयोजना गरिएको थियो । प्रधानमन्त्री स्वदेश फर्केपछि यस विषयमा निष्कर्षमा पुग्ने र द्विपक्षीय बैठकको आयोजना हुने मन्त्रालयले जनाएको छ ।
नेपालको जलविद्युत् क्षेत्रको विकास र व्यापारका सम्बन्धमा भारत सरकारले पठाएको प्रस्ताव र त्यस प्रस्ताव भित्र रहेको भनिएको प्रावधानसमेत सहमतिमा मात्रै टुङ्गो लाग्ने भन्दै मन्त्रालयले वार्ताको क्रममा आफ्नो एजेण्डा राख्न दुवै पक्ष स्वतन्त्र हुने स्पष्ट पारेको छ । ऊर्जा मन्त्री राधा ज्ञवालीले नेपालको तर्फबाट प्रस्तुत गरिने विद्युत् व्यापार सम्झौताको मस्यौदा तयारीको क्रममा रहेको जानकारी दिदै प्रधानमन्त्रीको मर्यादालाई ख्याल गरेर तत्कालका लागि बैठक स्थगित भएको बताउनुभयो ।