दुई दिने द्विपक्षीय विद्युत् व्यापार बैठक स्थगित

साउन ४, काठमाडौँ  –
नेपालले विद्युत् व्यापार सम्झौतालगायतका विद्युत् क्षेत्रसँग सम्बन्धित विषयमा भारत सरकारसँग गर्ने  भनिएको द्विपक्षीय बैठक स्थगित भएको छ । भारतको राजधानी नयाँदिल्लीमा भोलि हुने भनिएको दुई दिने  बठक प्रधानमन्त्री सुशील कोइराला स्वाथ्योपचारका क्रममा मुलुकबाहिर रहनुभएको र सरोकारवाला पक्षसँग छलफल नभएको भन्दै ऊर्जा मन्त्रालयले सो बैठक तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

 प्रधानमन्त्री स्वदेश फर्केपछि छलफल गरी निष्कर्षमा पुग्ने र द्विपक्षीय बैठकको आयोजना हुने मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गरेर स्पष्ट पारेको हो ।     नेपालको जलविद्युत् क्षेत्रको विकास र व्यापारका सम्बन्धमा भारत सरकारले पठाएको भन्ने प्रस्ताव र सो प्रस्ताव भित्र रहेको भनिएको प्रावधानसमेत सहमतिमा मात्रै टुङ्गो लाग्ने भन्दै मन्त्रालयले वार्ताको क्रममा आफ्नो एजेण्डा राख्न दुवै पक्ष स्वतन्त्र हुने स्पष्ट पारेको छ ।

ऊर्जा मन्त्री राधा ज्ञवालीले नेपालको तर्फबाट प्रस्तुत गरिने विद्युत् व्यापार सम्झौताको मस्यौदा तयारीको क्रममा रहेको जानकारी दिदै प्रधानमन्त्रीको मर्यादालाई ख्याल गरेर तत्कालका लागि बैठक स्थगित भएको बताइन्  । मन्त्री ज्ञवालीले सम्झौताको प्रस्ताव भारतबाट प्राप्त भएको तर सो प्रस्तावमाथि छलफल नभएको बताउँदै सम्झौता नेपालको लागि नै आवश्यक भएको स्पष्ट पारिन् ।