अवैध चल्ला नियन्त्रणमा प्रहरी सक्रिय

साउन ४,चितवन।

भारतबाट  अवैध रुपमा नेपाल भित्र्याइएको १८ हजार कुखुराको चल्ला प्रहरीले चितवनको नारायणगढबाट नियन्त्रणमा लिएको छ । विशेष सुराकीका आधारमा जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय नारायणगढले आज बिहान पुल्चोकबाट ना३ख ७०५५ नम्बरको ट्रकसहित अवैध चल्ला नियन्त्रणमा लिएको नेपाल पोल्ट्री महासङ्घले जनाएको  छ ।

१७५वटा कार्टुनमा ल्याइएका चल्ला गैँडाकोटको ब्रिटिस क्याम्पमा लुकाई बाँकी चल्ला चितवनतर्फ ल्याउने क्रममा बरामद गरिएको हो । प्रहरीले लुकाएको चल्लासमेत नियन्त्रणमा लिएको जनाएको छ । गाडी र त्यसका चालकसहित नियन्त्रणमा लिइएका अवैध चल्लाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नेपालको खुल्ला सिमानाका कारण भारतीय बजारबाट नेपाली बजारमा अवैध रुपमा कुखुराहरु भित्रन थालेपछि त्यसलाई रोक्न प्रहरीले सक्रियता बढाएको छ भने व्यवसायीहरु चनाखो भएका छन् । गत आर्थिक वर्षमा नेपालका सीमा क्षेत्र भएका विभिन्न जिल्लाबाट आठ लाख अवैध चल्ला बरामद गरी नष्ट गरिएको ह्याचरी उद्योग सङ्घ चितवनले जनाएको  छ  ।