नेपालमा सुर्तीको कर दक्षिण एसियाकै कम, नबढाउन दबाब

साउन ४, काठमाडौं –

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन करको दर ७० प्रतिशत पुर्‍याउन पक्ष राष्ट्रहरुलाई निर्देशन दिए पनि नेपालले सुर्तीमा लगाएको कर भने दक्षिण एसियामै सबैभन्दा कम रहेको छ ।

नेपालले चुरोटमा ३७ र सुर्तीमा ३० प्रतिशत कर लगाएको छ । जब कि सुर्तीजन्य पदार्थमा दक्षिण एसियाकै अन्य देशहरु बंगलादेशले ६६ प्रतिशत, श्रीलंकाले ७० प्रतिशत, पाकिस्तानले ६२ प्रतिशत र भारतले ३८ प्रतिशत कर लगाएका छन् । युरोपेली राष्ट्रहरुमा पनि सुर्तीजन्य पदार्थमा लाग्ने कर ७० प्रतिशत भन्दा माथि रहेको नयाँ पत्रिकामा खबर छ ।

सरकारले आइतबार पेस गरेको आर्थिक वर्ष ०७१र७२ को बजेट वक्तव्यमा चुरोटमा औसत १० प्रतिशत र सुर्तीमा १५ प्रतिशत करको दर बढाएको हो । तर, डब्लुएचओले सुर्तीजन्य पदार्थको करको दर ७० प्रतिशत पुर्‍याउन दिएको निर्देशनलाई सरकारले यसपटक वेवास्ता गर्‍यो ।

आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक राममणि दुवाडीले यसपटक चुरोटमा ८ देखि १२ प्रतिशत र सुर्तीमा १५ प्रतिशत कर बढाएको बताए ।