शून्य समयमा जनताका समस्या सदनमा

साउन २, काठमाडौँ –

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकको शून्य समयमा सभासदहरुले समसामयिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले खानेपानी, स्वास्थ्य, सञ्चार लगायतका आधारभूत सेवा मा स्थानीय जनताले झेल्नुपरेका समस्याको तत्कालै  निराकरण गर्न सरकारसँग माग गरेका छन् ।

 शून्य समयमा बोल्दै सभासद आरजु राणाले द्वन्द्वकालमा नेपाली सेनाले नियन्त्रणमा लिएका गैरसैनिक भौतिक संरचना आजसम्म नछाडेको, उखु किसानले आफ्ना उत्पादनको मूल्य र बेचिएको उखुको भुक्तानी नपाएका लगायतका विषयमा आवाज उठाउँदै सरकारको ध्यान आर्कषण गराएकी थिइन् ।  सो अवसरमा सभासद अइन्द्रसुन्दर नेम्बाङले चितवन राष्ट्रिय निकुञ्जको बीचबाट लगिने प्रस्तावित रेलमार्गले जैविक विविधतामा प्रतिकूल प्रभाव पार्ने भएकाले वैकल्पिक मार्ग खोज्नुपर्ने माग राखेका थिए भने सभासद कल्पना चौधरीले महिलामैत्री बजेट नआएको गुनासो गरेकी थिइन् ।

त्यस्तै  सभासद अष्टलक्ष्मी शाक्य बोहोरा तत्कालीन नेकपा–माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका बेला बन्द भएका साना तथा मझौला उद्योगका ऋण मिनाहा गरी सरकारीस्तरबाट ती उद्योग पुनः सञ्चालनका निम्ति आवश्यक प्रयास हुनुपर्ने जोडदार माग राखेकी थिइन् । त्यस्तै शुन्य समयमा बोल्ने अधिकांश सभासदले जनाताले पाएका दुख र सास्तीका पीडाका पक्षमा ओकालत गरेका थिए । सो अवसरमा इजरायल र प्यालेस्टाइनबीच जारी सङ्घर्ष अन्त्य गर्नेतर्फ पनि सरकारले कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका छन् ।