काठमाडौँकै २० हजार घरमा छैन शौचालय

साउन २, काठमाडौँ –

राष्ट्रिय सरसफाइ गुरु योजनाका साथ राष्ट्रव्यापी रुपमा सरसफाइको कार्यक्रम भइरहेका बेला काठमाडौ महानगरपालिकासहितका नगरोन्मुख क्षेत्र भने सरसफाइका अवस्थामा धेरै पछि परेका छन् । विकट र पिछडिएका अछाम, कालिकोट, पाँचरलगायत जिल्लाले सरसफाइमा फड्को मारेका बेला काठमाडौँ भने धेरै पछि परेको छ ।

सरकारले सन् २०१७ भित्र मुलुकलाई खुला दिसामुक्त बनाउने राष्ट्रिय अभियान अघि सारेर कार्यक्रम गरिरहँदा मुलुकभरका विभिन्न १५ जिल्ला, १७ नगरपालिका र १ हजार ५ सय भन्दा बढी गाविस खुला दिसामुक्त घोषणा भइसकेका छन् ।आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

विगत ४ वर्षदेखि सरसफाइ गुरुयोजनाका साथ काम भइरहँदा काठमाडौँका भने यही साताभित्र बल्ल १६ गाविस मात्र खुला दिसामुक्त बनेका छन् । मंगलबार फुटुङ खुला दिसामुक्त क्षेत्र बन्यो भने बुधवार एकै दिन टोखा चण्डेश्वरी, टोखा सरस्वती र साड्ला गाविसमेत खुला दिसामुक्त भए ।

तर काठमाडौँका कुल ५७ मध्ये अन्य ४१ गाविसका २० हजार स्थानीयका घरमा अझै पनि शौचालय नबनेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ ।उपत्यकाको पहिलो जिल्लाका रुपमा गत वर्ष भक्तपुर खुला दिसामुक्त घोषित भएको छ । ललितपुरका केही गाविसमा यो अभियानले निरन्तरता पाएपनि नगर क्षेत्र अझै पछाडि छ । काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाका कुनै पनि खुला दिसामुक्त बन्न सकेका छैनन् ।