‘ककस’ जस्तै मोर्चा जन्माउने तयारी

साउन २, काठमाडौँ – संविधानसभाले ‘ककस’लाई अस्वीकार गरेपनि त्यसभन्दा बाहिर भने ककसजस्तै मोर्चाको तयारी सुरु भएको छ । पहिचानसहितको संघीयताका पक्षधरहरु शक्तिहरुले त्यस्तो मोर्चाको तयारी तीब्र बनाएका हुन् ।

पहिलो संविधानसभामा विभिन्न जाति, क्षेत्र, र लिंगले ककसका नाममा संविधान निमार्णलाई नै सकसमा पारेपछि दोस्रो संविधानसभाले त्यसलाई अस्वीकार गरेको थियो । आजको राजधानी दैनिकले समाचार छापेको छ ।  दोस्रो संविधानसभामा पहिचान पक्षधर शक्तिहरु कमजोर बनेको र कांग्रेस एमालेले सहमतिमा संविधान निमार्ण नभए प्रक्रियामा लैजाने बताउन थालेपछि मोर्चा निर्माणमा लागेको एक नेताले बताए ।

विगतमा अस्तित्वमा रहेकै विभिन्न राजनीतिक दलमा आबद्ध आदिवासी जनजाति नेताहरुको संयुक्त संघर्ष समिति नेपालले मोर्चाको तयारीलाई अहिले अन्तिम चरणमा पुर्‍याएको छ । उनीहरुले त्यस्तो मोर्चाको औपचारिक घोषणा साउनको मध्यसम्ममा गरिसक्ने जनाएका छन् ।

मोर्चाको तयारी पद्मरत्न तुलाधर, खगेन्द्र माखिम, डा। ओम गुरुङ, आङकाजी शेर्पा, मल्ल के सुन्दरलगायतले पहलकदमी लिइरहेका छन् ।उनीहरुले पहलिो संविधानसभाको उत्कर्षका बेला पनि संयुक्त संघर्ष समिति निर्माण गरी पहिचानसहितको संघीयताका लागि आन्दोलन चर्काएका थिए ।