स्वास्थ्यको ख्याल गर्दै बढी विषादी प्रयोग नगर्न आग्रह

साउन १, काठमाडौँ –

कृषि विकास मन्त्रालयले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मानव स्वास्थ्यप्रति ध्यान दिन कृषक र व्यवसायीलाई आग्रह गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा गोलभेँडा, हरियो सागसब्जी, आलु प्याजलगायत विभिन्न प्रकारका फलफूलहरुमा विषादी प्रयोग गर्दा खानयोग्यसम्म मात्र प्रयोग गर्नुपर्ने र खान अयोग्य हुने गरी प्रयोग गर्न नहुनेमा जोड दिइएको छ ।

मन्त्रालयका सचिव जयमुकुन्द खनालले तरकारी तथा फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीहरुले जीवको स्नायुप्रणालीमा हुने एसिटायलकोलिनइस्टरेज इन्ज्वाइमको क्रियाकलापहरुलाई हुन नदिने हुनाले यो दर सकभर कम गर्नेतर्फ कृषक लाग्नुपर्ने बताए  ।

तरकारी तथा फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएको उपज उपभोगयोग्य मानिएको, ३५–४५ प्रतिशत भएको चार–पाँच दिन क्वारन्टिनमा राखिएको उपभोग गर्न नहुने र ४५ प्रतिशतभन्दा बढी भएको उपज खान अयोग्य मानिन्छ ।

हरेक ठाउँमा किसानले उत्पादन गरेको आलुमा विषादी प्रयोग गरेको पाइएको, अन्य ठाउँको भन्दा काभ्रेको पनौतीबाट आएको आलुमा बढी विषादी पाइएको पनि उल्लेख गरिएको छ ।  तरकारीहरुमा कतिको विषादी प्रयोग भएको छ÷छैन जाँचका लागि कालीमाटी तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको र हरेक दिन बिहान ६ बजेबाट फलफूल तथा तरकारीमध्ये आठदेखि १० वटा बालीको नमुना छनोट गरी परीक्षण गरिएको सचिव खनालले जानकारी दिए  ।

आलु भेँडेखुर्सानी, पिरो खुर्सानी, हात्ती सुँढे खुर्सानी, केरा, बोडी , पालुङ्गो, काउली, गाजर र प्याजको साग गरी जम्मा २६ वटा नमुनामा सहनसीमाभन्दा बढी मात्रामा विषादी अवशेष फेला परेकोसमेत जनाइएको छ ।