बस दुर्घटना हुँदा २४ यात्रु घाइते

साउन १, सप्तरी –

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको त्रिकोल–८ स्थित सडकमा अपराह्न यात्रुवाहक बस पल्टिँदा २४ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । वीरगन्जबाट विराटनगर जाँदै गरेको ना४ख ३०८२ नम्बरको यात्रुवाहक बसले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकको दाँहिने छेउमा पल्टिएर भएको उक्त दुर्घटनामा परी २६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सर्लाहीको हेमनगर–६ निवासी ४५ वर्षीय शिवकुमारी देवी, सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २५ वर्षीया सुष्मा रेग्मी, सोही ठाउँका ४८ वर्षीय तुलसीप्रसाद रिजाल, सप्तरीको रुपनगर–६ निवासी लहरीदेवी यादव र सोही ठाउँका ३० वर्षीय अरुण भुजेललाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।