मुस्ताङ अब पाँचौ पूर्ण साक्षर जिल्ला

साउन १ , म्याग्दी –
हिमाली जिल्ला मुस्ताङको आज देखि अर्को परिचय थपिएको  छ । पूर्ण साक्षर जिल्ला ।  पूर्ण साक्षर जिल्ला घोषणा गरिएसँगै  मुस्ताङ नेपालको पाँचौँ पूर्ण साक्षर जिल्ला बनेको छ । मुस्ताङमा रहेका १६ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर बनेपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

यसअघि ललितपुर, पाल्पा, सिन्धुपाल्चोक र धादिङलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएको छ । मुस्ताङ पश्चिमाञ्चल विकास क्षेत्रमा दोस्रो र धौलागिरि अञ्चलको पहिलो पूर्ण साक्षर जिल्ला बनेको छ ।

लक्षित समूहका आठ हजार ४१२ जनामध्ये ९७.५८ प्रतिशत अथवा आठ हजार १२४ जनाले अङ्क र अक्षर चिन्ह, पढ्न र लेख्न सक्ने भएपछि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय मुस्ताङले जनाएको छ  ।