साउने संक्रान्ति पर्व देशभर मनाइदै

साउन १ , काठमाडौँ –

साउने संक्रान्ति पर्व हिन्दु धर्मालम्बीहरुले आज मनाउँदैछन् । कृषि प्रधान देशमा मानो खाई मुनी उब्ज्याउने कथन  अनुसार धान रोपाइ सकीएको दिनका रुपमा यो पर्व मनाउने प्रचलन  छ । सौर्यमान अनुसार सूर्य दक्षिणायन तिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

आजका दिन, असारे वर्षा र हिलोबाट लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा छ । दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता वनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो फाल्ने गरिन्छ ।

साउने संक्रान्ति पवको अवसरमा पशुपतिनाथको मन्दिरमा महिला भक्तजनको विहानैदेखि घुइँचो लागेको छ । वैदिक मान्यताअनुसार शिव आराधनाका लागि साउन महिना अति उपयुक्त मानिने भएकाले मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो लागेको हो ।