पटक-पटक बेचिन्छन् इराकमा नेपाली महिला

साउन १ , काठमाडौँ –
वैदेशिक रोजगारीका लागि द्वन्द्वग्रस्त खाडी राष्ट्र इराक पुगेका नेपाली महिला त्यही पटक(पटक बेचिने गरेका छन् । इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ७ लाख ७८ हजार सम्ममा बेच्ने गरेको पाइएको छ ।  यसरी बेचिएका महिला कामदारलाई मासिक ४ सय देखि ७ सय अमेरिकी डलरसम्म तलव दिने गरिएको छ ।आजको नागरिक दैनिकले समाचार छापेको छ ।

‘नेपाली महिला कामदार इराकका विभिन्न सहरमा पटक(पटक बेचिने गरेको सूचना हामीलाई प्राप्त भएको छ । गिरोहले उनीहरुलाई ५ हजारदेखि ८ हजार अमेरिकी डलर सम्ममा बेच्ने गरेको पीडितहरुले इराक पुगेका हाम्रा प्रतिनिधिसँग बताएका छन्, पराराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, ‘यसरी बेचिने नेपाली महिलाको संख्या निकै ठूलो छ । ‘

परराष्ट्रका अनुसार इराकमा रहेका नेपाली उद्धार गर्न विशेष प्रतिनिधिका रुपमा परराष्ट्रका सहसचिव अर्जुकान्त मैनाली र उपसचिव तीर्थ अर्याल त्यहाँ पुगेपछि नेपाली महिला बेचिने गरेको जानकारी आएको हो । मैनाली मंगलवार राजधानी बग्दाद र अर्याल आइतबार इराकको उत्तरपूर्वी सहर अरबिल पुगेका थिए ।