पासपोर्ट बेच्ने अभियुक्तहरु नौ हजारमै छुटे

१ साउन, काठमाडौँ –  थुप्रै नेपाली पासपोर्ट बिक्री गर्ने अभियुक्तहरु अदालतबाट नौ हजार धरौटीमै छुटेका छन् । नेपालीको पासपोर्ट जम्मा गरी बंगलादेशीलाई बिक्री गर्नेहरु अदालतबाट सामान्य धरौटीमा छुटेपछि पुन: त्यही धन्दामा संलग्न भएको प्रहरीको दाबी छ ।

विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिको पासपोर्ट जम्मा गरी बंगलादेशीलाई तीन लाख रुपैयाँसम्म बिक्री गर्दै आएका कुमार पुरी, पूर्णबहादुर मगर र देवीप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राहदानी ऐन अनुसार सिआईबीले उनीहरुविरुद्ध मुद्धा दायर गरेकोमा ९-९ हजार धरौटीमा उनीहरु निस्किएका छन् । पक्राउ परेका तीनैजना मेनपावर सञ्चालक हुन् । पुरी अल जारफा ह्युमन रिसोर्स कन्सलटेन्ट, मगर आरपी इम्प्यायोमेन्ट कन्सलटेन्सी तथा काफ्ले एनसिएफ सर्भिसका सञ्चालक हुन् ।

सिआइबीका अनुसार बंगलादेशी नागरिक मोहम्मद दरबार हुसेनलाई उनीहरुले एउटै पासपोर्ट तीन लाख रुपैयाँसम्म बिक्री गरेका थिए । हुसेनलाई समेत प्रहरीले बंगलादेशी प्रहरीको सहयोगमा पक्राउ गरिसकेको छ । नेपाली पासपोर्ट किनेर त्यसमा फोटो परिवर्तन गरी हुसेनले बंगलादेशी कामदारलाई नेपाली बनाएर विदेश पठाउँदै आएका थिए ।