परिणामका बारेमा पहिलो नै आँकलन गरेको थिएँ : नवनिर्वाचित एमाले अध्यक्ष ओली

असार ३१, काठमाडौँ –

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै पक्षलाई समेटेर एकताबद्ध, सुढृढ र गतिशील बनाइने बताएका छन् ।     अध्यक्षमा विजयी घोषित भएपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै  ओलीले पार्टीमा देखिएका बेथितिलाई अन्त्य गरी थितिअनुसार सबैलाई मिलाएर चलाउने प्रतिबद्धता व्यक्त गरे । उनले “पार्टीको अभिभारा र चुनौती आफुनो काँधमा आएको  र  सबै पक्षलाई समेटेर जिम्मेवारीपूर्वक पार्टी सञ्चालन गर्ने जिकीर गरे ।

उनले  निर्वाचनमा आउने परिणामका बारेमा पहिलो नै आँकलन भएकाले त्यहीअनुरूप नेताहरूसँग सहमतिको प्रस्ताव राख्दा कुरा नमिलेपछि प्रतिस्पर्धामा उत्रिनुपरेको हो भन्दै यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए ।     अध्यक्ष ओलीले जनताको बहुदलीय जनबाद (जबज) को सिद्धान्तअनुसार नै पार्टीलाई अगाडि बढाइने र आफूले पद विशेषलाई भन्दा पनि देश र जनताको उन्नतिका लागि काम गर्ने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको विकासका लागि एमालेको नयाँ नेतृत्वले विचार र व्यवहारमा नै एकताबद्ध भएर गतिशील तरिकाले पार्टी सञ्चालन गर्ने विश्वास दिलाए ।     अध्यक्षमा विजयी भएपछि ओलीको निवासमा एमालेका नेता–कार्यकर्ताको शुभकामना र बधाइ दिनेको घुइँचो लागेको छ । उहाँलाई धेरै दौडधूप गर्न नहुने भएकाले निवासमा जाने सबैले भेट्न पाएका छैनन् । ओलीलगायत पदाधिकारीलाई बुधबार केन्द्रीय निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।