एमाले अध्यक्षमा ३९ मतले ओली विजयी, सदस्यको परिणाम भोली बिहान सम्म आउने

असार, ३१ काठमाडौँ  – नेकपा एमालेको नवौंँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी ुभएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी माधवकुमार नेपालले भन्दा ३९ मत बढी ल्याएर ओलीले नेपाललाई पराजित गरेका हुन् । ओलीले १ हजार दुई मत ल्याए भने नेपालले ९६६ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा भने भीमबहादुर रावल एक हजार ३३०,  वामदेव गौतम एक हजार ७५, विद्यादेवी भण्डारी एक हजार ५७, युवराज ज्ञवाली एक हजार २६ र अष्टलक्ष्मी शाक्य एक हजार छ मत   ल्याएर विजयी भएका छन् । उपाध्यक्षका उम्मेदवार प्रदीप नेपाल, राजेन्द्रप्रसाद पाण्डे, लालबाबु पण्डित, किरण गुरुङ र धर्मनाथप्रसाद साह पराजित भएका छन् । त्यस्तै महासचिवका उम्मेदवार ईश्वर पोखरेल एक हजार ५१ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद पाण्डे एक हजार २३ ल्याएका छन् । उपमहासचिवमा घनश्याम भुसाल एक हजार ४१ र  विष्णुप्रसाद पौडेल एक हजार ४५ मत ल्याई विजयी हुनुभएको छ । सो पदमा शङ्कर पोखरेल र रघुजी पन्त पराजित भएका छन् । सचिवका उम्मेदवारमा गोकर्णराज विष्ट एक हजार २०६, प्रदीपकुमार ज्ञवाली एक हजार १०६, योगेश भट्टराई एक हजार २८, पृथ्वी सुब्बा गुरुङ ९९६ र  भीमप्रसाद आचार्य ८८७ मत ल्याएर विजयी भएको एमालले जनाएको छ ।

यसैबिच अध्यक्षमा पराजित एमाले बरिष्ठ नेता माधव कुमार नेपालले बिजयी उमेदवार ओलीलाई कार्यकालको शुभकामना दिएका छन् । उता केन्द्रीय सदस्यको भने मतगणना रातभरी जारी रहने र भोली बिहान सम्म मत परिणाम आउने एमालले जनाएको  छ  ।